Sunday September 19, 2021  |    | 

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान

2021 Jul 22
IMG
काठमाडौँ । यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । 

निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।

सो ट्राफिक बत्तीको आज बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।

ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासित सिकाउने अपेक्षा लिएको उहाँको भनाइ छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यती एयरलाइन्सले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्ट भित्रिने मुख्य प्रवेशद्वारमा ट्राफिक बत्ती जडान गरेको बताउनुभयो । 

एयरलाइन्सका प्रशासन निर्देशक अन्जन बड्गामीले यतीले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले विदेशी पर्यटक बाहिर निस्कने ठाउँमा यस्तो सङ्केत बत्ती राख्ने काम सराहनीय कार्य भएको बताउँदै यसको संरक्षण र निरन्तरताका लागि वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा एयरलाइन्सका सिइओ रिमालले ट्राफिक सङ्केत बत्ती कन्ट्रोल स्वीचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्