Saturday November 27, 2021  |    | 

कोरोना गार्ड जस्ता भ्रमपूर्ण विद्युतीय यन्त्र नकिन्न स्वास्थ्य मन्त्रालयको आग्रह

2021 Jul 15
IMG

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ जस्ता डिभाइस नकिन्न र प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याईएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो।

यस बारेमा मन्त्रालयले विभिन्न माध्यमबाट जानकारी समेत दिँदै आएको छ ।

मन्त्रालयले  सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका हुन्।

“विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,” उनले भने, “अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।”

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ।

यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको जोखिम बढेकोले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई स्वास्थ्य सुरक्षा सतर्कताका साथ व्यापार गर्न समेत आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्