Monday May 10, 2021  |    | 

विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय, (उडान तालिका सहित यसरी ल्याइदैछ)

2020 Jun 12
IMG
काठमाडौं, कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले धमाधम उद्धार गरेर स्वदेश ल्याउन थालेको छ ।

विदेशमा रहेका नेपालीलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजले उद्धार गर्ने व्यवस्था मिलाइएको छ । नेपाल एयरलाइन्सका वाइड र न्यारोबडी दुबै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज उद्धारमा परिचालित गरिएको छ ।

बिहीबार कुवेतले करिब ३ सय महिला श्रमिकलाई नेपाल ल्याउँदैछ । आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन् । अरु विदेशी उडान २४ वटासम्म गरिनेछ । यी उडानबाट करिब ११–१२ हजार नेपाली आइपुग्ने अनुमान मन्त्रालयको छ ।

यस्तो छ उडान तालिका

बंगलादेशको ढाकाबाट जुन १४ मा विदेशी दुई विमानले दुई वटा फ्लाइट गर्नेछन् ।

जुन १५ मा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले जनाएको छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छ ।

यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरियाबाट हिमालय एयरलाइन्सले उडान गर्ने छ ।

२० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छ । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपाली ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

२१ जुनमा दक्षिण कोरिया र मस्कट ९ओमान०बाट नेपाल एयरलाइन्स तथा कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले उडान गर्नेछ ।

२२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ । २४ जुनमा नेपाल एयरलाइन्स मात्र साउदी र कुवेतका नेपाललाई ल्याउने छ ।

२५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रसरइजरायलबाट उडान गर्ने छ ।

उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने मन्त्रालयले प्रष्ट गरेको छ । यात्रुले भने पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्