Tuesday October 27, 2020  |    | 

कोरोनाको कहरसँगै दोलखामा सडक निर्माण जारी

2020 May 30
IMG

                    किशोर गुरुङ


दोलखा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को त्राससंगै दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकाको विकास निर्माण कार्यमा कुनै प्रभाव परेको छैन । जिल्लाको एक मात्र सडक बाटो नपुगेको र केन्द्रीय सरकारको विकास निर्माणबाट छाँयामा परेको ९ नं. वडा (साविक गौरीशंकर गाविस) मा अहिले स्थानीय सरकारको पहलमा धमाधम ग्रामीण सडक निर्माण भइरहेको छ ।

भुगर्भविद्को भौगोलिक अध्ययन तथा अनुसन्धानबाट भुगोलको रिपोर्टअनुसार सडक डिभिजन कार्यालयले डिपिआर सम्पन्न गरी जगतदेखि फेदी हँुदै टासीनामसम्मका ग्रामीण सडक निर्माण कार्य अगाडि बढाएको वडाअध्यक्ष छिरिङ शेर्पाले बताए ।

सो ग्रामीण सडक निर्माणका लागि आर्थिक वर्ष २०७६ र ७७ मा गाउँपालिकाबाट ५० लाख, वडा कार्यालयबाट ८ लाख गरी ५८ लाख बजेट विनियोजन गरिएको थियो । त्यसपछि भुगोलको अध्ययन गरी डिपीआर गर्दा खर्च बढ्ने अनुमान गरिएको हुनाले पालिकाबाट थप २० लाख र वडा कार्यलयबाट १२ लाख रकम विनियोजन गरी कुल ९० लाख पुर्याएकोे गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले बताए ।

गत फागुनमा सुजन गुरुङका अध्यक्षतामा उपभोक्ता समिति गठन गरी चैत्र २ गतेबाट औपचारीक रुपमा ग्रामीण सडक खन्न थालिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशको पुरै सिमा तथा गतिविधि बन्द गरी लकडाउन गर्ने निर्णय गरिएपश्चात एक महिनासम्म काम बन्द गरेको थियो । लामो समयसम्म लकडाउन कायमै भएतापनि विकास निर्माण कार्यलाई निरन्तरता दिन गाउँपालिकाले निर्णय गर्दै सम्बन्धित निकायलाई निर्देशन दिए लगतै सडक खन्न पुनः सुरु गरिएको हो ।

सडक बाटो निर्माणको सन्दर्भमा उपभोक्ता समितिको अध्यक्ष सुजन गुरुङका अनुसार इच्छा शक्ति भए कहिल्यै केही बाधाले छेक्न नसकिने र आइपरेको कठिनाईहरु सहजीकरण गरी सडक निर्माणलाई नरोक्ने बताए ।

गौरीशंकरको टासीनाममा ग्रामीण सडक निर्माणको पहल पहिला पनि नि नगरेको त होइन तर त्यहाँको भुगोलको बास्तविक अध्ययन तथा मापदण्डका प्राविधिक समस्याको कारणले डिपिआर समेत हुन सकेको थिएन । आर्थिक वर्ष २०७३/७४ मा सांसद विकास कोषबाट तत्कालीन सभासद पार्वत गुरुङले एक करोड ग्रामीण सडक (जगत—फेदी—टासीनाम) बाटो निर्माणको लागि बजेट विनियोजन गरेका थिए ।

२०७३ चैत्र २० गते स्थानीय पदमबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी पहिलो चरणको सडक ट्याक खन्ने काम सुरु गरिएको थियो । त्यसवेला भुकम्पको तत्कालीन प्रभावसंँगै स्थानीयको अवरोध बावजुद करिब एक किलो मिटरको सडक ट्रयाक खनेर बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्