Friday January 22, 2021  |    | 

बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

2020 May 06
IMG
काठमाडौं । नेपालमा थप सात जना कोरोनाको नयाँ संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मन्त्रालयले आज बिहान दिएको जानकारीअनुसार भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्जका ३ जना पुरुष, एक बालिका र ३ महिलामा कोरोना संक्रमण फेला परेको हो । नेपालगञ्ज –८ का २२, ३० र ४० वर्षका पुरुष, ९ वर्षीया बालिका र ३२, ३४, ५५ वर्षका महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । योसहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ । नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ । वैशाख २३ गते बिहान ११ बजेदेखि लागू हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ । हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो । नेपालमा सोमबारसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्