Tuesday October 27, 2020  |    | 

नेपाली युवा गायक दिवेश अमेरिकन आइडलको शीर्ष १० मा

2020 May 05
IMG

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलको शीर्ष १० मा पर्न सफल भएका छन् । जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदै उनले अमेरिकन आइडलनको शीर्ष १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।


नेपाली युवा दिवेशले अमेरिकन आइडलमा भने सुरुदेखि नै आफूलाई ‘अर्थर गन’ को नामले चिनाउँदै आएका छन् । अडिसनदेखि नै निर्णायकहरुको तारिफ पाउँदै आएका दिवेशले अहिले पनि प्रशंसा पाउने क्रम उत्तिकै जारी छ । उनलाई अमेरिकन आइडलको टप ५ को दावेदारका रुपमा हेरिएको छ ।


टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।


‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।




कमेन्ट गर्नुहोस्