काठमाडौं । चीनको ठूलो सहर शंघाईका बालबालिका विद्यालय जान सुरु गरेका छन् । शंघाईको उच्च माध्यमिक तथा निम्न माध्यमिक कक्षाका अन्तिम वर्षका विद्यार्थीहरु विद्यालय जान सुरु गरेका हुन् ।
यस्तै, चीनको राजधानी बेजिङमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षाका लागि विद्यालय खुला गर्ने अनुमति दिइएको छ । उक्त प्रवेश परीक्षा आगामी जुलाईमा हुने छ ।
चीनको अन्य केही स्थानमा भने केही हप्ता अगाडिबाटै विद्यालयहरु खुलेका थिए । कोरोना भाइरसको संक्रमण सुरु भएको वुहान सहरमा भने ६ मेबाट विद्यालयहरु खुल्ने छन् ।
चीन सरकारले कोरोना भाइरस नियन्त्रणमा धेरै भन्दा धेरै सफलता हात पारेको दावी गरेको छ ।
चीनमा गत शुक्रबारदेखि मंगलबार बिहानसम्ममा २६ जना मात्रै कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । योसँगै चीनमा संक्रमितको कुल संख्या ८२ हजार ८ सय ३० पुगेको छ ।
चीनले वुहान सहरमा अहिले कोही पनि कोरोनाको बिरामी नभएको बताएको छ । उपचारपछि निको भएका सबैलाई अस्पतालले डिस्चार्ज दिइसकेको चीनको दावी छ ।
यद्यपि, कोरोना संक्रमण पुनः देखिन सक्ने आशंका भने उत्तिकै गरिएको छ । संक्रमण हुनबाट जोगिनका लागि सामाजिक दूरीको नियम भने कडाईका साथ पालना गरिएको छ ।
विद्यालय जाने विद्यार्थीहरुले अनिवार्य मास्क र दूरी बनाएर बस्नु पर्ने अनिवार्य गरिएको छ ।
कमेन्ट गर्नुहोस्