Tuesday October 27, 2020  |    | 

अध्यादेश खारेजीलाई राप्रपाको स्वागत

2020 Apr 26
IMG
सरकारले अध्यादेश खारेजी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारी कदमको स्वागत गरेका छन्।

अस्थिरता निम्त्याउने, संविधानको मर्म र शक्ति पृथकीकरणविपरीतको अध्यादेश भन्दै राणाले खारेज हुनु स्वागतयोग्य रहेको बताए । प्रजातन्त्र धराप पर्ने भन्दै सरकार र सत्तारुढ दल नेकपालाई अध्यादेश फिर्ता लिन राप्रपाले सचेत गराएको थियो ।

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भए लगत्तै राप्रपा विरोधमा उत्रेको थियो । नेपाली कांग्रेसलगायत चार दलको संयुक्त बैठकमासमेत राप्रपा सहभागी थियो ।

राप्रपा अध्यक्ष राणाले कोभिड-१९ सम्बन्धी नीति पनि सरकारले अद्यावधिक गर्दै लैजानुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा विषयगत विशेषज्ञको राय सल्लाहमा कोरोना संक्रमणको अवस्था मध्यनजर गरेर आवश्यक रणनीति अख्तियार गर्नुपर्ने उनको भनाइ छ ।

राणाले शुक्रबार ट्वीट गर्दै लेखेका छन्, ‘सरकारले कोरोना र बन्दाबन्दीका नीति अद्यावधिक गर्नु पर्दछ, संक्रमणका हटस्पट र भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी कायम राख्दै, संक्रमण नदेखिएका जिल्लामा स्वास्थ्य र विषयगत विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउँदै लाने र आर्थिक गतिविधि सहज तुल्याउने नीति लिनु उपयुक्त हुनेछ ।’

कमेन्ट गर्नुहोस्