Tuesday October 27, 2020  |    | 

कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट, अमेरिकामा मूल्य ऋणात्मक

2020 Apr 24
IMG

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको कारण अमेरिकामा कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ ।

कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा मूल्य शून्यभन्दा पनि तल झरेको बीबीसीले जनाएको छ । तेलको मूल्यमा आएको ऐतिहासिक गिरावटपछि तेल उत्पादक देशहरुले खरिदकर्ताहरुलाई उल्टै पैसा दिएर किन्नका लागि अनुरोध गरिरहेका छन् । यदि यसो नगरेको खण्डमा तेल भण्डारणमा समस्या बढ्ने छ ।

कोरोनाको महामारीका कारण यति बेला विश्वका अधिकांश मुलुकले लकडाउन जारी गरेका छन् । जसले गर्दा मानिसहरु घरमै बस्न बाध्य छन् । यसले गर्दा पनि तेलको मागमा गिरावट आएको हो । अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको विश्लेषण गरिएको छ ।

मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँने भएकाले व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिन लागि आफूसँग रहेको तेल खरिदबापत उल्टै क्रेतालाई भुक्तानी दिएको बताइएको छ । जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ ।

८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ ।

लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन् । केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र अरु सहयोगी राष्ट्रहरूबीच आउँदो मे महिनाबाट लागू हुने गरी प्रतिदिन १० प्रतिशतले तेल उत्पादन कटौती गर्ने सहमति भएको थियो ।

तेल उत्पादनमा यति धेरै कटौती गर्ने यो पहिलो सम्झौता थियो । तर विज्ञहरुले भने तेल उत्पादनमा कमी गरिएपनि धेरै समस्या नसुल्झिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्