Sunday November 29, 2020  |    | 

कान्तिपुर र रिपब्लिकालाई न्यूनतम पारिश्रमिकको चेतावनी / पत्रकार र कर्मचारी युनियन आन्दोलनमा उत्रिने

2020 Apr 24
IMG

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोरोना सन्त्रासको अप्ठेरो बेला पत्रकार, कर्मचारीलाई विभिन्न बहाना झिकी प्रकाशन गृहहरुले जागिरबाट हटाउने प्रपञ्च गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । ठूलो प्रकाशन गृह कान्तिपुरले कोरोनाको बहाना झिकी २ सय भन्दा बढी पत्रकार, कर्मचारीलाई बेतलबी बिदामा बस्न टेलिफोन गरेको छ ।

त्यसको देशैभरीबाट विरोध भएपछि पत्रकार र कर्मचारी सम्बद्ध संगठनहरु आन्तरिक गृहकार्यमा छन् । सोही क्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुधबार बोलेको हो । अध्यक्ष राजेन्द्र अर्यालले एक विज्ञप्ति प्रकासन गरी केही सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाबाट समेत बञ्चित गरेको गुनासा र समाचारहरुप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल ती निर्णय रोकी पारिश्रमिक उपलब्ध गराउन माग गरेको हो ।

‘बेतलबी भने पनि, पैसा दिन ढिला गरेपनि पत्रकारलाई दुख दिनै खोजिएको हो । हामीलाई मौखिक रुपमा दर्जनौं साथीहरुको उजुरी आइरहेको छ । लिखित मगाउँदैछौं, अध्यक्ष अर्यालले खुलानेपालसँग भन्नुभयो, ‘त्यसरी पत्रकारको श्रम शोषण गर्न हामी कुनै हालतमा दिँदैनौं ।’

रिपब्लिका मिडिया अन्तर्गत नागरिक दैनिकले समेत केही महिनादेखि तलब दिन छाडेको छ । यो विषयमा समिति र नेपाल पत्रकार महासंघको संयुक्त बैठक बिहीवार सञ्चारग्राममा समेत बस्दैछ । महासंघले यसअघि नै रिपब्लिका मिडियामा चेतावनीपत्र दिइसकेको छ । समितिको विज्ञप्तिमा कोरोना संक्रमणको यस्तो संवेदनशील घडीमा आफ्नो ज्यानको जोखिम मोलेर कार्य क्षेत्रमा खटिएका श्रमजीवी पत्रकार र कर्मचारीहरुले पारिश्रमिकको बक्यौता र नियमित पारिश्रमिक प्राप्त गर्न नसक्नु, लकडाउन र यसबाट उत्पन्न संकटको बहानामा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले गम्भीर र चिन्तित बनाएको उल्लेख छ । कान्तिपुरका सम्पादक सुधीर शर्मा, समाचार सम्पादक श्रीश भण्डारीसहित केहीले आफूहरुको तलब सुरक्षित गरी कार्यक्षेत्रमा खट्ने अधिकांश पत्रकारहरुलाई भने बेतलबिमा बस्न उर्दी  गरेका थिए । ।

त्यो निर्णय अन्याय र भेदभावपूर्ण भन्दै कान्तिपुर हाउसभित्रै विवाद उठेको छ । व्यवस्थापनले भने यसको विकल्प के हुन सक्छ भनी राय, सल्लाह लिइरहेको कान्तिपुर स्रोतले जानकारी दियो । ‘श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न र पारिश्रमिक नपाएका पत्रकारहरुलाई अविलम्ब पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरिन्छ, विज्ञप्तिमा छ । समितिले अहिलेको संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसुचित गर्न अहोरात्र कार्य क्षेत्रमा खटिएका पत्रकार, फोटो पत्रकार, कामदार र कर्मचारीहरुको आवश्यक स्वास्थ्य परिक्षण र स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरि विशेष व्यवस्था गर्न पनि तत्काल ध्यान दिन सम्बन्धित पक्षलाई अपिल समेत गरिएको छ ।

यसैबीच,सम्बद्ध कर्मचारी युनियनहरुका नेताबीच समेत यसविषयमा छलफल भएको थियो । प्रकाशन गृहका मजदूर नेता र पत्रकार महासंघबीच पहिलो चरणको बैठक आज बसेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिनुभयो ।

जोखिममा थप जोखिम मोलेर काममा खटिरहेका पत्रकार र श्रमिक सञ्चारकर्मीहरुलाई जुनसुकै बहानामा निकाल्न पाइदैन, यसका विरुद्ध पत्रकार महासंघले पत्रकारसहित सञ्चारगृहका मजदुरहरुसँग मोर्चाबन्दी गरेर आन्दोलन गर्न बाध्य छ । भोलि बस्ने महासंघको उपलब्ध बैठकले आन्दोलनका थप कार्यक्रमहरु तय गर्नेछ, बैठकपछि जैसीले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्